काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्राउप्रति आपत्ति जनाएका छन्।
पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कुनै प्रमाण र अभियोगबिना पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको दाबी गरेका हुन्। उनले यस्तो कार्य नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्।
उनले जबराको गिरफ्तारी संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको दाबी गरेका छन्।
पोखरेलले लेखेका छन्, ‘बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो। यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासन (Rule of Law) को मर्मविपरीतको काम हो।’
उनले यस्तो कार्यलाई समर्थन गर्नु स्वेच्छाचारी प्रवृत्तिलाई प्रश्रय दिनु भएको दाबी गर्दै गलत कामविरुद्ध खबरदारी गर्न सबैलाई आग्रह गरेका छन्।
यसअघि पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको थियो। प्रहरीले उनलाई ‘सुरक्षा थ्रेट’ रहेको जानकारी पाएपछि सुरक्षित स्थानमा राखिएको जनाएको छ। प्रहरीका अनुसार जबराविरुद्ध तत्काल कुनै मुद्दा अघि बढाउने योजना नरहेको र उनलाई रिहा गरिने बताइएको छ।
प्रहरीले जबरालाई नियन्त्रणमा लिँदा अदालतबाट पक्राउ पुर्जी नलिएको विवरणसमेत सार्वजनिक भएको छ। घटनाबारे पक्राउको कानुनी आधार र प्रक्रियामाथि प्रश्न उठिरहेका बेला पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।



















