काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पनि १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। शनिबार सम्पर्क कार्यालय चूनदेवीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको हो।
महाधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ जना पार्टी क्रियाशील सदस्यता अद्यावधिक गरिएको र ५ लाख ७३ हजार २६९ जना पुराना तथा २ लाख १० हजार ५६७ जना नयाँ सदस्य रहेको सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले जानकारी दिए। उनले १५ गते हुने वडा अधिवेशनसंगै महाधिवेशनको प्रक्रिया सुरु हुने बताए।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले सबैलाई समेटेर महाधिवेशन प्रक्रिया अघि बढाइएको जानकारी दिए। आगामी महाधिवेशन परीक्षाको समय भएको भन्दै कोइरालाले महाधिवेशनले पार्टीको भविष्यको बाटो देखाउने धारणा राखे।
त्यस्तै, कांग्रेस नेता डा. प्रकाशशरण महतले एकताको महाधिवेशन सम्पन्न गर्न ढोका खुला गरेर संवाद गरे पनि सफल नभएकाले पूर्वनिर्धारित तालिका अनुसार नै महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए ।




















