काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा पेस गरेको हो। उक्त प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी छ।
यसअघि २०८३ जेठ ३ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण तथा सक्रिय राजनीतिमा फर्कने बाटो खुलाउने निर्णय गरेको थियो।
भण्डारीको पार्टी सदस्यताका विषयमा यसअघि एमालेभित्र विवादसमेत भएको थियो। उनको नवीकरण गरिएको सदस्यता वैधानिक नभएको भन्दै केन्द्रीय कमिटी र सचिवालय बैठकले सदस्यता कायम नगर्ने निर्णय गरेका थिए।
भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। उनी २०७२ र २०७४ मा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।




















