काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले कर्मचारी सरुवा–बढुवालाई विधि र मापदण्डमा आधारित बनाउन स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले राजनीतिमा आएपछि आफूले सामना गर्नुपरेको प्रमुख दबाबमध्ये कर्मचारी सरुवा–बढुवा पनि रहेको बताए।
उनका अनुसार सुशासन र पारदर्शिताको कुरा गर्ने कतिपय आफन्त तथा शुभेच्छुकसमेत सरुवा–बढुवाका लागि दबाब दिन आउने गरेका छन्। कतिपयले आफ्नो माग पूरा गर्न नसके नेता हुनुको औचित्यमाथि नै प्रश्न उठाउने गरेको उनले बताए।
आचार्यले आफूले भने कर्मचारी सरुवा–बढुवा विधि र प्रक्रियाअनुसार हुने गरेको बताउँदै आएको उल्लेख गरे। रास्वपाको वाचापत्रमा समेत स्वायत्त सरुवा बोर्डमार्फत पूर्वानुमानयोग्य र विधिमा आधारित सरुवा प्रणाली लागू गर्ने प्रतिबद्धता रहेको उनले बताए।
‘अब भनसुन चल्दैन भनेर भनेको छु। हाम्रो वाचापत्रको आठ नम्बरको वाचा देखाउँदै सरकारले चाँडै नै स्वायत्त सरुवा बोर्डमार्फत पूर्वानुमानयोग्य, विधिमा आधारित सरुवा प्रणाली लागू गर्दैछ भनेर पनि भन्छु,’ उनले भने।
सरकारले आफ्नो प्रतिबद्धताअनुसार स्वायत्त सरुवा बोर्ड गठन गरी कर्मचारी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ।
दशैंको प्रसंग जोड्दै आचार्यले सरकारले बोर्ड गठन नगरे आफूले आफन्त र शुभेच्छुकबाट आलोचना खेप्नुपर्ने अवस्था आउन सक्ने भन्दै व्यंग्य गरे।
‘सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ। होइन भने यो पटकको दशैंमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद नपाइएला भन्ने पिर छ,’ उनले भने, ‘आशीर्वादको साटो उल्टै यसले हाम्रो कामै गरिदिएन भनेर सराप पो पाइने हो कि ! त्यसैले मलाई यो सरापबाट बचाउनुपर्यो सरकार।’




















