काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढीपीडितहरू बसिरहेका अस्थायी शिविरमा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले विपद्पछि विभिन्न स्थानमा सञ्चालन भइरहेका राहत तथा अस्थायी शिविरमा महिला र बालबालिकाको सुरक्षा संवेदनशील बनेको जानकारी आएको बताए। उनले उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे।
यसैबीच, सांसद झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन्। उनले चुनावी प्रतिबद्धताअनुसार जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरे।
गत वर्षको चुनावी अभियानका क्रममा माघ ५ गते जनकपुरबाट जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गर्दै उनले मन्त्रिपरिषद्को पछिल्लो निर्णयले उक्त प्रक्रिया अघि बढ्ने आधार तयार भएको बताए।
सांसद झाले बाढीपछि अवरुद्ध कृष्णभीरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियताको समेत प्रशंसा गरे। उनले सरकारले देखाएको कार्यसम्पादनको गति अन्य निर्माण तथा पूर्वाधार आयोजनामा पनि निरन्तरता पाउनुपर्ने बताए।
उनले विपद्पछिको पुनःस्थापना तथा राहतसँगै अस्थायी शिविरमा रहेका महिला र बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिए।




















