काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकको तेस्रो दिनको बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखिरहेका छन्।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकको दोस्रो दिनसम्म १ सय १८ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन्। बाँकी सदस्यहरूले आज धारणा राख्नेछन्।
केन्द्रीय सदस्यहरूलाई धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ। बैठकमा विभिन्न नौवटा एजेन्डामाथि छलफल भइरहेको आचार्यले जानकारी दिए।
उनका अनुसार आज अबेरसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी छ। सचिवालय बैठकले केही महत्वपूर्ण निर्णय गर्ने र ती निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।
पार्टीभित्र मतभेदका बीच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि अधिकांश केन्द्रीय सदस्यले समर्थन जनाएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनयनसँगै पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषय पनि एजेन्डामा रहेका छन्।




















