काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरतमणि दाहाललाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश कुमारी रेग्मीको एकल इजलासले दाहाललाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो।
प्रहरीले दाहाललाई आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साइबर ब्युरोको अनुरोधमा मोरङ प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं पठाएको थियो।
दाहाल पक्राउ परेपछि उनकी छोरी डेनीका दाहालले बुवाको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र बन्दीसहित तथा अनुसन्धानसम्बन्धी मिसिल पेस गर्न आदेश दिएको हो।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शान्ति ढुंगाना,अधिवक्ताहरू शुभाष सिंह धामी र निकेश धितालले बहस गरेका थिए।




















