काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भक्कानिएकी छन्।
मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले आफ्नो छोराको बलिदान र सहिद परिवारले खोजिरहेको न्यायमाथि राजनीतिक टिप्पणी भइरहेको भन्दै आपत्ति जनाइन्।
उनले आफू पदको लोभमा नभई सहिद परिवारको न्याय र देश सुधारका लागि संसद्मा आएको बताइन्। आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भन्ने टिप्पणी गरिएको भन्दै उनले त्यसको प्रतिवाद गरिन्।
खतिवडाले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको न्यायका लागि भएको दाबी गरिन्। आफूले न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने र न्याय प्राप्त भएको दिन सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिचकिचाउने बताइन्।
उनले भनिन्, ‘मेरो काख रितिएको छ, संसार उजडिएको छ। यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु। म कुनै माफिया बन्न वा जनतालाई उचालेर लडाउन आएकी होइन। म त एउटी सहिदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमरून् भनेर खबरदारी गर्न आएकी हुँ।’
खतिवडाले सरकारले बन्दी बनाइएका आन्दोलनकारीलाई रिहा गर्न, घाइतेको निःशुल्क उपचार गर्न तथा सहिद परिवारले चित्त बुझ्ने गरी न्याय निरूपण गर्नसमेत माग गरिन्।
‘सांसद रुँदा सरकार चलाउनेहरू कुर्सीमा कसरी बस्न सक्छन्?’
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनकी सहिदकी आमाको आँसु पुछ्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकार गठन भएको लामो समय बितिसक्दा पनि जेनजी आन्दोलनमा दोषी देखिएकामाथि कारबाही हुन नसकेको भन्दै प्रश्न उठाए।
उनले राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै दोषीमाथि कारबाही गर्न ढिलाइ भएको आरोप लगाए।
शाहीले भने, ‘सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनकी सहिदकी आमा अहिले रुनुभयो। तपाईंले सरकार चलाएको ६ महिना भयो। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बुझाइसकेको छ। को–को दोषी हुन् भनेर प्रमाणपत्र बुझाएको ६ महिना भयो। अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन?’
उनले जेनजी आन्दोलनका घटनामा दोषी देखिएकामाथि कारबाही गर्न नसके सरकारको नेतृत्व गर्नेहरू सत्ताको कुर्सीमा बसिरहन नहुने तर्क गरे।
‘यदि पक्रिन सक्नुहुन्न भने सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ? ती आमाको आँखाको आँसु पुछ्नुस्। जेनजी आन्दोलनमा जो–जो अपराधी छन्, चाहे सत्तापक्षका हुन् चाहे प्रतिपक्षका हुन्, यिनीहरूलाई समाउँदै जेल हाल्नुस्। संसद्मा एक जना सांसद रुँदै गर्दा कुर्सीमा तपाईंहरू कसरी बस्न सक्नुहुन्छ?’ शाहीले भने।




















