काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले विभिन्न कम्युनिस्ट घटकसँग पार्टी एकताका लागि पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
मंगलबार बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो।
समितिलाई विचार मिल्ने देशभक्त तथा गणतन्त्रवादी दल वा समूहसँग पार्टी एकताका लागि आवश्यक संवाद र पहल गर्ने जिम्मेवारी दिइएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार एउटै कम्युनिस्ट पार्टी निर्माणको उद्देश्यसहित सम्बन्धित सबै पक्षसँग वार्ता गरिनेछ।
उनले भने, ‘एउटै कम्युनिस्ट पार्टी निर्माणको पहल गर्न सबै पक्षसँग वार्ता हुनेछ।’
आजदेखि सुरु भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकले विभिन्न विषय समेटेर आठबुँदे एजेन्डा तय गरेको छ। एजेन्डामा अन्य दल वा समूहलाई पार्टीमा समाहित गर्ने विषयसमेत समेटिएको छ।




















