काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन खोजेको नभई कार्यदलले दिएको सुझावअनुसार पार्टीमा पुनर्गठन र ‘कोर्स करेक्सन’को कुरा गरिएको बताएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मंगलबार सम्बोधन गर्दै पोखरेलले कार्यदलको सुझावलाई गलत रूपमा बुझिएको भन्दै आफू र अध्यक्ष ओलीबीच फाटो ल्याउने प्रयास भएको बताएका हुन्।
बैठकमा पोखरेलले अध्यक्ष ओलीले आफूलाई हटाउन खोजेको भन्ने अर्थमा बुझ्न नहुने स्पष्ट पारेको एक नेताले जानकारी दिए।
पोखरेलले भने, ‘अध्यक्षले मैले हटाउने कुराको बुझ्नुभएछ। कार्यदलमा आएको सुझावका आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ। उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो। दूरी बढ्यो।’
ललितपुरको च्यासलमा सोमबारदेखि जारी बैठक आज पनि अध्यक्ष ओलीकै अध्यक्षतामा सञ्चालन भइरहेको छ। बैठकको पहिलो दिन ओलीले ८८ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि मंगलबारदेखि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
बैठकको सुरुवातमा ओलीले पदाधिकारीहरूलाई धारणा राख्न समय दिएका थिए। प्रत्येक पदाधिकारीका लागि १५ मिनेटको समय तोकिएकोमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्र धारणा राखेका छन्।
अहिले केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार आफ्नो धारणा राखिरहेका छन्। उनीहरूका लागि तीन मिनेटको समय छुट्याइएको छ।
बैठकमा सहभागीका लागि कडाइसमेत गरिएको छ। बैठक कक्षमा मोबाइल प्रयोग निषेध गरिएको छ भने बैठकबाट बाहिर जानुपरे अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, बोल्न चाहने सदस्यले अध्यक्षको ध्यानाकर्षण गराई अनुमति पाएपछि मात्र धारणा राख्नुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय सदस्यहरूलाई बोल्न समय लाग्ने भएपछि एमालेको केन्द्रीय कमिटी बैठक एक दिन लम्बिने भएको छ। अध्यक्ष ओलीले दोस्रो दिनको बैठकमा सबै सदस्यलाई धारणा राख्न समय दिनुपर्ने भएकाले बैठक थप एक दिन सञ्चालन हुने बताएका छन्।




















