काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असहमति र विवादलाई कमिटी तथा आन्तरिक बैठकमा राख्न आग्रह गर्दै सार्वजनिक रूपमा नेतृत्वविरुद्ध अभिव्यक्ति दिने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आन्तरिक विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत छताछुल्ल पार्नु ‘अराजकता’ भएको बताए। उनले यस्तो प्रवृत्ति तत्काल रोक्न पार्टी पंक्तिलाई आग्रह गरे।
ओलीले पार्टी महाधिवेशनले गरेका निर्णयको विपक्षमा जाने तथा बाहिर ‘अध्यक्ष हटाउनुपर्छ’ भन्दै हिँड्ने छुट कसैलाई नभएको बताए।
‘पार्टीमा खुला र बहुआयामिक छलफल हुनुपर्छ, तर त्यो विधि, पद्धति र अनुशासनभित्र हुनुपर्छ,’ उनले भने, ‘पार्टीभित्रका असहमति र बहसलाई कमिटी तथा आन्तरिक बैठकमै खुला रूपमा राखिनुपर्छ।’
देश जटिल परिस्थितिबाट गुज्रिरहेको दाबी गर्दै ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि चुनौती रहेको बताए। यस्तो अवस्थामा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने र अनुशासनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
बैठकमा ओलीले आफ्नो स्वास्थ्य समस्या तथा कार्यदलको प्रतिवेदन तयारीका कारण केन्द्रीय कमिटी बैठकमा केही ढिलाइ भएको बताए। उनले भदौ १० गतेको बाढीपहिरोपछि उद्धार तथा राहतमा एमालेले खेलेको भूमिकाको प्रशंसा गरे।
यस्तै, उनले बाढीपहिरोको विषयमा सरकारले अफवाह फैलाएको र राहत वितरणमा असक्षमता देखाएको बताए ।




















