काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी विपद् तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सुझाव दिएका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबार पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा भोटेकोशी विपद्लाई जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी संकटसँग जोडेर प्रस्तुत गर्न शर्माले सुझाव दिएका छन्।
उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले ठूलो रूपमा भोगिरहेको भन्दै जोखिममा रहेका मुलुकको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन नेपालले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
महासभाका क्रममा हुने द्विपक्षीय तथा साइडलाइन भेटवार्तालाई समेत नेपालले भोगिरहेको जलवायुजन्य विपद्का विषयमा अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता जुटाउन उपयोग गर्नुपर्ने कांग्रेसको सुझाव छ।
शर्माले प्रधानमन्त्रीको महासभा सम्बोधनअघि सर्वपक्षीय छलफल आयोजना गर्नसमेत सुझाव दिएको जानकारी दिए। ‘संयुक्त राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंगो देश छ भन्ने सन्देश दिन कांग्रेसले आफ्ना धारणा राखेको हो,’ उनले बताए।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने छन् ।




















