काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने प्रत्येक सदस्यलाई तीन मिनेटको समय निर्धारण गरिएको छ।
बैठकको सुरुवातमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै केन्द्रीय सदस्यलाई बोल्ने अवसर दिइने जानकारी गराएका हुन्। निर्धारित समयमा आफ्ना कुरा राख्न नभ्याउने सदस्यले लिखित रूपमा धारणा बुझाउन सक्ने उनले बताए।
अध्यक्ष ओलीले आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले सदस्यहरूलाई अध्ययनका लागि आजको बैठक छोटो समयमै टुंग्याउने र भोलिदेखि प्रतिवेदनमाथि छलफल अघि बढाउने जानकारी दिए।
प्रतिवेदन अध्ययनपछि धारणा राख्दा विषय केन्द्रित भएर मात्रै बोल्न उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।
ओलीले भोलिदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन पनि निर्देशन दिएका छन्। बैठकमा मोबाइलबाट भिडियो खिच्न, अडियो रेकर्ड गर्न तथा लाइभ प्रसारण गर्न नपाइने उनले बताए।
त्यस्तै, बैठकमा आफ्नो आसन छाड्दा तथा बोल्नुअघि अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
बैठकमा बोल्दै ओलीले भने ‘हामीमाथिको भएको हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नुपर्थ्यो । तर, पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्यत भए । समस्याको सिर्जना हुन थाले । पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो’, उनले आक्रोश पोखे, ‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुराहरू बोल्ने को न्यायाधीश ?’
अध्यक्ष ओलीको यो भनाइ उपमहासचिव योगेश भट्टराईलाई लक्षित थियो । किनकि केही दिनअघि भट्टराईले भनेका थिए, ‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ। त्यसका लागि विधानमा संशोधन, राष्ट्रिय भेलाको आयोजना गर्नुपर्छ कि, विशेष महाधिवेशनको आयोजना गर्नुपर्छ यी सबै प्रक्रियामा अब पार्टी जान्छ, जानुपर्छ।’




















