रूपन्देही । नेपाली कांग्रेस दाङका चार पूर्वसभापतिले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया बहिष्कार गरेका छन्।
महाधिवेशन प्रक्रियामा सहभागी नहुनेमा कांग्रेस दाङका निवर्तमान सभापति कृतिबहादुर खड्का तथा पूर्वसभापतिहरू घनश्याम रेग्मी, वीरकेशरी गौतम र गेहेन्द्र गिरी रहेका छन्।
उनीहरू हाल पार्टीभित्र इतर समूहमा रहेका छन्। उनीहरूसँगै राष्ट्रियसभा सदस्य वासुदेव जंगली, राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम रेग्मी, पूर्वसचिव कुमुदराज शर्मा, गोपालराज शर्मा, बद्री खड्का, पूर्ण मल्ल र श्याम विकलगायतका नेताहरू पनि महाधिवेशन बहिष्कारको पक्षमा रहेको बताइएको छ।
यता, दाङबाट कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका योगेन्द्र चौधरी भने पार्टीको महाधिवेशन प्रक्रियामा सक्रिय छन्। यसअघि सभापति शेरबहादुर देउवा पक्षमा बलियो मानिएका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने वडा अधिवेशनमा सहभागी हुँदै महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
डिल्लीबहादुर चौधरीले यसअघि देउवा समूहको लुम्बिनी प्रदेश भेलाको समन्वयसमेत गरेका थिए।
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया भदौ–असोजमा अघि बढिरहेको छ। पार्टीभित्र विभिन्न समूहबीच महाधिवेशन प्रक्रियामा सहभागिता र वैधानिकताका विषयमा मतभेद कायमै रहेका बेला दाङमा पनि नेताहरूबीच फरक धारणा देखिएको हो।



















