काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। बैठकमा रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल हुने भएको छ।
प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा भवनको कार्यव्यवस्था हलमा बस्नेछ।
भोटेकोशी क्षेत्रमा आएको विपद्पछि खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको अनुगमन गर्न र आगामी दिनमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारलाई नीतिगत सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने निर्णय यसअघि नै भएको थियो।
प्रस्तावित विशेष समितिले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, दिगो पूर्वाधार पुनर्निर्माण तथा विपद् व्यवस्थापनसम्बन्धी कानुनको प्रभावकारितालगायतका विषयमा अध्ययन तथा सुझाव दिने बताइएको छ।
समिति गठनका विषयमा दलहरूबीच यसअघि पनि छलफल हुँदै आए पनि सदस्य संख्या, कार्यक्षेत्र, कार्यावधि र संयोजक चयनलगायतका विषयमा सहमति जुट्न सकेको छैन। यही कारण विशेष समिति गठन प्रक्रिया अघि बढ्न ढिलाइ भएको हो।
आज बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा विशेष समिति गठनसम्बन्धी बाँकी विषयमा सहमति जुटाएर प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। बैठकमा प्रतिनिधिसभाको कार्यसूची तथा अन्य समसामयिक विषयमा समेत छलफल हुने सचिवालयले जनाएको छ।
सचिवालयले कार्यव्यवस्था परामर्श समितिका सबै सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ।


















