काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा तयार पारिएको प्रतिवेदनलाई स्वीकार गर्ने निर्णय गरेको छ। यसअघि महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनका केही महत्वपूर्ण अंशहरूलाई समेत समेटेर बादलको उक्त दस्तावेजलाई अन्तिम रूप दिइएको हो।
पोखरेलले सातवटै प्रदेशका कार्यकर्ताहरूको सुझाव संकलन गरी एमाले नेतृत्व परिवर्तन गर्नुपर्ने आशयको छुट्टै प्रतिवेदन तयार पारेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुने अडान राख्दै आएका बादलले त्यसको प्रतिवाद गर्दै अर्को प्रतिवेदन बनाएका थिए ।
यी दुई फरक प्रतिवेदनहरूका कारण पार्टीभित्र उत्पन्न वैचारिक विवाद समाधान गर्न शीर्ष नेताहरूले धेरै प्रयास गरे पनि सहमति जुट्न सकेको थिएन । विवादले चर्को रूप लिँदा गत बिहीबार गुण्डुस्थित निवासमा भएको छलफलबाट निकास ननिस्किएपछि अध्यक्ष ओलीको विशेष निर्देशनमा नेता प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको थियो ।
कार्यदल बाहिरका व्यक्तिलाई प्रतिवेदन लेख्न लगाइएको भन्दै तीव्र आलोचना भएपछि स्थिति थप पेचिलो बनेको थियो । यसै क्रममा दबाबलाई साम्य पार्न अध्यक्ष ओलीले बादल, पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दुवै प्रतिवेदन मिलाएर एकल कागजात तयार पार्न निर्देशनसमेत दिएका थिए ।
अन्ततः सचिवालयको पछिल्लो बैठकले बादलको प्रतिवेदनलाई नै अगाडि बढाउने निर्णय लिएसँगै नेतृत्व फेर्नुपर्ने पोखरेलको प्रतिवेदनका कडा बुँदाहरू ओझेलमा परेका छन् । यही प्रतिवेदनलाई अब आगामी तीन दिनसम्म ललितपुरको एक पार्टी प्यालेसमा सञ्चालन हुने केन्द्रीय कमिटी बैठकमा मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिने तयारी गरिएको छ ।



















