काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा जारी छ। भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो।
बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।
आइतबार बसेको कार्यदल बैठकले नेता प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने समझदारी गरेको थियो। यसअघि महासचिव शंकर पोखरेलले ६५ पृष्ठ र कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले ३९ पृष्ठको छुट्टाछुट्टै प्रतिवेदन तयार गरेका थिए।
दुवै प्रतिवेदनमा सहमति नजुटेपछि साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी बादल, उपाध्यक्ष विष्णु पौडेल र पोखरेललाई दिइएको थियो। उनीहरूबीच छलफल हुन नसकेपछि ज्ञवालीलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।
कार्यदलले तयार गरेको पछिल्लो प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा वा नेतृत्व परिवर्तनको विषय नराखी अघि बढ्ने सहमति भएको नेताहरूले बताएका छन्।
एमालेको केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरमा सुरु हुँदैछ।




















