काठमाडौं । नेकपा एमालेको पुनर्गठन कार्यदलले साझा प्रतिवेदन तयार पारेर पार्टी सचिवालय र केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।
कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने, आलोचना नगर्ने र पदबाट हटाउने विषय नउठाउने सहमति भएको दाबी गरेका छन्।
उनका अनुसार कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्य सचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै मस्यौदालाई समेटेर साझा प्रतिवेदन तयार गर्ने निर्णय भएको हो। साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी यसअघि तोकिएका तीन जना नेताले पाउने उनले बताए।
बस्नेतले अध्यक्षको राजीनामा, नेतृत्व परिवर्तन तथा विशेष महाधिवेशनका विषय तत्काल नउठाउने सहमति भएको बताए।
‘अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने, पदबाट नहटाउने, कहीँ पनि बोल्दा पनि नबोल्ने र विशेष महाधिवेशन नगर्ने सहमति भएको छ,’ उनले भने, ‘७० वर्षे उमेरहद, दुई कार्यकाल र नेतृत्व परिवर्तनको कुरा नियमित महाधिवेशन वा विधान अधिवेशनबाट हुने विषय भएकाले त्यतिबेलाकै कुरा हो।’
कार्यदलले विभिन्न १३ वटा समूहबाट प्राप्त सुझावलाई प्रतिवेदनको अनुसूचीमा समावेश गर्ने सहमति गरेको पनि बस्नेतले जानकारी दिए।
उनका अनुसार पार्टीलाई थप जुझारु ढंगले अघि बढाउने र सरकारको ‘अधिनायकवादी शैली’विरुद्ध सशक्त आन्दोलनका लागि प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णयसमेत भएको छ।
नियमित विधान महाधिवेशनमा पार्टीभित्रका विभिन्न विषयमा छलफल हुने र आवश्यक निर्णय लिन सकिने वातावरण बनाउने मनसाय सबै नेतामा रहेको बस्नेतको भनाइ छ।




















