काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको पछिल्लो विवाद समाधान नभए कांग्रेस विभाजनको अवस्थामा पुग्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुगेको उल्लेख गरेका हुन्। उनले सम्भावित विभाजन रोक्न आफूले अन्तिम प्रयास गरिरहेको पनि बताएका छन्।
कांग्रेसभित्र दुई पक्षले छुट्टाछुट्टै रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला खड्का भने कुनै पक्षमा खुलेका छैनन्। उनले आफू महाधिवेशन प्रक्रियामा सहभागी नहुनुको कारण पनि स्पष्ट गरेका छन्।
खड्काका अनुसार निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि रहेको दाबी गर्दै आफूले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन्। उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सभापति गगन थापाको नेतृत्वमा अघि बढेको महाधिवेशन प्रक्रियामा सहभागी हुनु आफूलाई उचित नलागेको उनले बताएका छन्।
महाधिवेशनका गतिविधि रोक्न माग गर्दै अदालतमा निवेदन दिए पनि कार्यतालिका रोक्ने आदेश नआएकाले अहिले कांग्रेस दुईवटा महाधिवेशनतर्फ अघि बढेको अवस्था देखिएको खड्काको भनाइ छ।
उनले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई गम्भीरतापूर्वक लिएर अग्राधिकारमा राखी छिटो टुंगो लगाउने व्यवस्था गर्न पनि आग्रह गरेका छन्।
खड्काले पार्टी विभाजन रोक्न सम्बन्धित सबै पक्षबीच संवाद र सहमतिका लागि अन्तिम प्रयास आवश्यक रहेको बताएका छन्।




















