त्रिशुली । नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानमा ५० हजार ४६७ जनाले खोप सेवन गरेका छन् ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा खोप अभियान सञ्चालन गरिएको हो ।
जनस्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप दिने लक्ष्य राखिएको छ । बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा ई–कोलाई जीवाणु भेटिएपछि हैजासहित पानीजन्य रोगको जोखिम बढेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख डा अञ्जु कार्कीले खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गरिन् ।
विदुर नगरपालिकामा ५९ हजार २५४ जनालाई खोप दिने लक्ष्य रहेकामा हालसम्म ४० हजार २९१ जनाले खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ । खोप बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र होल्डिङ सेन्टरमा निःशुल्क उपलब्ध गराइएको छ ।
झाडापखालालगायतका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।



















