नुवाकोट । नुवाकोटमा बाढी पीडितहरुले अस्थायी पुल तथा अस्थायी बासस्थानको माग गरेका छन्। साविकको ढुङ्गे र त्रिशूली जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले ध्वस्त पारेपछि उनीहरुले बेलिव्रिज निर्माण र अस्थायी आवासको माग गर्दै शनिबार नुवाकोटमा प्रदर्शन गरेका छन्।
बाढीबाट प्रभावित विदुर नगरपालिका–१ ढुङ्गे, त्रिशूली तथा नदी पारी पश्चिमी क्षेत्रका बस्तीका समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयबासीले प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गरेको सहभागी रविन श्रेष्ठले बताए ।
उनले सहभागीहरूले बाढीबाट क्षति पुगेका तथा पुरिएका घरको तत्काल उत्खनन गर्नुपर्ने, विदुर–१ ढुङ्गे र त्रिशूली जोड्ने गरी तत्काल अस्थायी पुल निर्माण गर्नुपर्ने तथा त्रिशूली नदीपारिका बस्तीको आवतजावत सहज बनाउनुपर्ने माग प्रदर्शनकारीले गरेको जानकारी दिए । यसका साथै, बाढी प्रभावित परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने, राहत तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने र जनताका समस्या समाधानमा सम्बन्धित निकाय जिम्मेवार तथा जवाफदेही हुनुपर्ने माग उनीहरूले राखेका छन्।
बाढीपछि ढुङ्गे, त्रिशूलीलगायत नदीपारिका बस्तीका नागरिकले भोगिरहेको आवतजावत, आवास तथा दैनिक जीवनयापनको समस्या लामो समयसम्म रहन नदिन सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्ने राजकुमार तामाङले बताए।




















