काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको घोषित कार्यतालिका केही समयका लागि स्थगित गरेर पार्टीभित्र एकता कायम गर्न पहल गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले थापाले पछिल्लो समय गरेको निर्णयकै आधारमा पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग तत्काल संवाद सुरु गर्न आग्रह गरेका हुन्।
उनले वैशाख २१ गते आफूहरूबीच भएको संवादपछि नै थापाले निर्णय लिएको भए जेठको पहिलो साताभित्रै कांग्रेस सानेपास्थित केन्द्रीय कार्यालयमा एकताबद्ध भएर उभिन सक्ने अवस्था बन्ने दाबी गरेका छन्।
खड्काले थापासमक्ष दुईवटा सुझावसमेत दिएका छन् । पहिलो, असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्नुपर्ने र दोस्रो, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा तत्काल वार्ता तथा संवाद सुरु गर्नुपर्ने उनको सुझाव छ ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि अझै समय रहेको दाबी गर्दै खड्काले कांग्रेसको सम्पूर्ण एकता सम्भव रहेको बताएका छन्।
उनले दुईवटा अलग–अलग महाधिवेशनको प्रक्रिया नरोकिए कांग्रेस विभाजन हुने जोखिम रहेको चेतावनीसमेत दिएका छन्।
खड्काले कांग्रेस विभाजन भए त्यसको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अन्य दलहरूमा समेत विभाजन हुनसक्ने दाबी गरेका छन्। त्यसपछि देश जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वतर्फ जान सक्ने भन्दै उनले चिन्तासमेत व्यक्त गरेका छन्।
उनले पछिल्ला घटनाक्रम, देखिएका संकेत र विभिन्न गतिविधिले देशमा गम्भीर द्वन्द्वको अवस्था निम्तिन सक्ने आफ्नो आशंका रहेको बताएका छन्।
खड्काले कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण थापालाई समस्या नपर्ने भन्दै ढुक्क भएर निर्णायक कदम चाल्न आग्रह गरेका छन्।
थापाले विगतका घटनाक्रम र आफूले प्राप्त गरेका सल्लाह तथा सुझावलाई गहिरो शिक्षाका रूपमा लिएर निर्मम समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
आफू कुनै महत्वाकांक्षाबाट मुक्त रहेको उल्लेख गर्दै खड्काले पार्टी एकताका लागि आवश्यक परे जस्तोसुकै त्याग गर्न र सहयोग गर्न तयार रहेको बताएका छन् ।




















