काठमाडौँ । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भन्ने समाचारबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले केही दिनअघि अमेरिकी अनलाइन पत्रिका ‘द ग्रेजोन’ले रास्वपाको उदयमा अमेरिकी लगानी र संस्थाहरूको भूमिका रहेको दाबी गर्दै प्रकाशित गरेको रिपोर्टबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका हुन्।
उनले भदौ २३ र २४ गते भएका घटनासँग जोडिएका विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टहरू गम्भीर रहेको उल्लेख गर्दै ‘द ग्रेजोन’मा प्रकाशित दाबीबारे पनि सरकारले जवाफ दिनुपर्ने बताए।
पोखरेलले सिंहदरबारसहित सरकारी, निजी, व्यावसायिक तथा राजनीतिक दलका कार्यालयमा भएको आगजनीमा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक पदार्थ प्रयोग भएको विषयमा यसअघि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आएको दाबी गरे।
‘भदौ २३ र २४ का घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विषय गम्भीर प्रकृतिका छन्। अमेरिकाको अनलाइन पत्रिका द ग्रेजोनले प्रकाशित गरेका तथ्यहरूबारे कसले जवाफ दिने हो?’ उनले प्रश्न गरे।
उनका अनुसार ‘द ग्रेजोन’ले प्रधानमन्त्री वालेन्द्र शाहसहित रास्वपाका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरेको छ।
‘प्रधानमन्त्री वालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी द ग्रेजोनले गरेको छ। सभामुख महोदय, यसको जवाफ चाहिन्छ,’ पोखरेलले भने।
उनले उक्त रिपोर्टमा नाम जोडिएका व्यक्ति तथा सरकार दुवैले प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिए। ‘प्रश्नबाट कोही पनि भाग्न पाउँदैन। सरकार र नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ,’ उनले भने।




















