काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी दिएका छन्।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने जानकारी गराएका हुन्।
उनका अनुसार महासभामा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाइनेछ।
‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ,’ उनले भने।
समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विषयमा विज्ञहरूसँग समेत छलफल भएको थियो। विज्ञहरूले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तलगायत विषयमा धारणा राखेका थिए।
अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषयमा पनि बैठकमा छलफल भएको थियो।
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता मुलुकका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर हुने बताएका छन्।




















