काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपद्को समयमा ‘एक्लै काफी छु’ भन्ने मानसिकता नदेखाउन चेतावनी दिएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले ठूलो विपत्तिको सामना सरकार एक्लैले गर्न नसक्ने भन्दै सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गरिन्।
‘यो विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमन्ड नगर्नुस्। देश र जनताको माया तपाईंलाई बढी, हामीलाई कम भन्ने हुन सक्दैन। काम नै भएन भन्न खोजेको होइन, अझ बढी गर्न सकिन्थ्यो,’ उनले भनिन्।
विपद्को समयमा सरकारले आवश्यक छलफल र समन्वय नगरेका कारण क्षति बढेको आरोप लगाउँदै अर्यालले आवश्यकता परे अन्य मुलुकसँग सहयोग लिनसमेत सरकार हिचकिचाउन नहुने बताइन्।
‘ग्यास वितरण गर्न नसकेर सरकार लाचार भयो’
अर्यालले वर्तमान सरकार ग्यास वितरणको व्यवस्थासमेत प्रभावकारी बनाउन नसकेर लाचार साबित भएको आरोप लगाइन्।
‘एक सुत्केरीका श्रीमान्ले ग्यास नपाएर खोलामा हाम फालेको घटना ताजै छ। यो सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको छ,’ उनले भनिन्।
ग्यासको कृत्रिम अभावका कारण दैनिक ज्यालादारीमा निर्भर ६५ प्रतिशतभन्दा बढी जनसंख्या प्रभावित भएको उनको दाबी छ। सर्वसाधारण महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।
‘अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ। तर गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपांगता भएका व्यक्ति तथा समग्र निम्न वर्गका लागि खाना पकाउने ग्यासको अभावले आक्रान्त बनाएको छ,’ अर्यालले भनिन्।
एउटा मात्रै ग्यास सिलिन्डर भएका र खाली भएपछि तत्काल साटेर ल्याउनुपर्ने परिवारको संख्या कति छ भन्ने तथ्यांक सरकारसँग छ कि छैन भन्दै उनले प्रश्न गरिन्।
‘महँगो मूल्यमा ग्यास किन्न बाध्य जनता छन्। निम्न वर्गका लागि विद्युतीय चुल्होको सुविधा छैन। काम छाडेर ग्यास खोज्न जाने कि काम गर्न जाने ?’ उनले प्रश्न गरिन्।




















