काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले बाढीका कारण बेपत्ता नागरिकको खोजी तथा प्रभावितलाई राहत उपलब्ध गराउने कार्यमा सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बोहराले सरकारी तथ्याङ्कअनुसार रसुवामा अझै ५ हजार १३० जना बेपत्ता रहेको उल्लेख गरे। आफ्नो जिल्ला कञ्चनपुरमा २६ जना र निर्वाचन क्षेत्र कञ्चनपुर–२ मा १४ जना बेपत्ता रहेको पनि उनले जानकारी दिए।
पछिल्ला केही दिन आफू निर्वाचन क्षेत्रमा रहेर बाढी प्रभावित नागरिकका घरघरमा पुगेको बताउँदै बोहराले सर्वसाधारणको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारको प्रभावकारी उपस्थिति नदेखिएको गुनासो गरे।
प्रहरी र नेपाली सेनाका कर्मचारीको हकमा सम्बन्धित संगठनले परिवारको जिम्मेवारी लिने आश्वासन दिएको भए पनि सर्वसाधारणका लागि त्यस्तो सरकारी उपस्थिति महसुस गर्न नसकिएको उनको भनाइ छ।
‘सर्वसाधारणको कुरा गर्ने हो भने कहीँ पनि कोही पुगेको छैन। प्रशासनका मान्छे पालिकाका कर्मचारी पुगे होलान् भन्छन्, पालिका प्रमुखहरू सरकार आउँछ भन्छन्। कोही पनि छैन,’ बोहराले भने।
उनले आफ्नो निर्वाचन क्षेत्र शुक्लाफाँटा–३, जोनापुरकी सुनिता डगौराको अवस्था उदाहरणका रूपमा प्रस्तुत गरे। दुवै मिर्गौला फेल भएकी डगौराका छोरा अभिषेक डगौरा लाङटाङ हाइड्रोबाट बेपत्ता रहेको उनले बताए।
‘औषधि किनिदिने मान्छे छैन, बिहान–साँझ छाक कसरी टार्ने भन्ने अवस्था छ। खाने व्यवस्था छैन। यो एउटा प्रतिनिधि घटना मात्रै हो, सबैको अवस्था यस्तै छ,’ उनले भने।
बाढी प्रभावित नागरिकको वास्तविक अवस्था बुझेर सरकारले तत्काल राहत, खोजी तथा पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए। ‘सरकारले के गर्छ, कहाँ जान्छ, के भन्छ भन्ने हेर्न बाँकी छ,’ बोहराले भने।




















