काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने अवस्था रहेको बताएका छन्।
कञ्चनपुरमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै लिङ्देनले नयाँ सरकार गठन हुँदैमा देश सही बाटोमा अघि बढेको मान्न नसकिने बताए। उनले देश झन् ठूलो अँध्यारो सुरुङमा प्रवेश गरेको दाबी गरे।
उनले भने, ‘नयाँ सरकार आयो, देश अब एउटा बाटोमा गयो भन्ने कुरा होइन। देश अहिले झन् ठूलो अँध्यारो सुरुङमा प्रवेश गरेको छ। कुनै पनि बेला देश दुर्घटनामा जान सक्ने सम्भावना बढेर गएको छ।’
देशलाई निकास दिन सक्ने शक्ति राप्रपा मात्रै भएको दाबी गर्दै उनले पार्टीलाई अधिवेशनमार्फत पूर्ण रूपमा सुधार र सुदृढ बनाएर अघि बढाउनुपर्ने बताए।
लिङ्देनले कांग्रेस र कम्युनिस्ट पार्टीहरू पुनः उठ्न सक्ने अवस्थामा नरहेको तथा नयाँ भनिएका शक्तिहरू पनि अलमलमा परेको टिप्पणी गरे। ठूलो जनमतसहित सरकारमा पुगे पनि सामान्य दैनिक प्रशासन सञ्चालन गर्नसमेत नसकेको उनको आरोप थियो।
सरकारका गलत गतिविधिविरुद्ध नागरिक बोल्न डराइरहेको दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत हुने आक्रमणप्रति पनि टिप्पणी गरे।
‘आज मान्छेले नबोलेको मात्रै हो। हिजो माओवादीविरुद्ध बोल्दा बन्दुक आउँथ्यो, अहिले यो सरकारको गलत क्रियाकलापविरुद्ध बोल्यो भने फेसबुक आउँछ। त्यसैले मान्छे नबोलेको मात्रै हो,’ उनले भने।
नेपाल भूराजनीतिक रूपमा अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको र विश्व समुदायबाट समेत नेपाल एक्लिँदै गएको लिङ्देनको दाबी छ। उनले विगतमा एकल बहुमत प्राप्त गरेका दलले समेत पूरा पाँच वर्ष संसद् चलाउन नसकेको उदाहरण प्रस्तुत गर्दै वर्तमान संसद्को भविष्यप्रति पनि आशंका व्यक्त गरे।
उनले २०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याए पनि संसद् पाँच वर्ष नचलेको, २०४८ सालमा कांग्रेसले बहुमत प्राप्त गरे पनि पाँच वर्ष टिक्न नसकेको र २०५४ सालमा आएका बहुमतका सरकारसमेत स्थिर हुन नसकेको स्मरण गरे।
‘अहिले नै भन्नु हतार जस्तो हुन्छ, तर हाम्रो कार्यकर्ता पङ्क्तिलाई भनेर जान्छु—यो संसद् पनि पाँच वर्ष जान्छ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले हामी सच्चिएर, सुध्रिएर तयार बनौँ,’ लिङ्देनले भने।




















