काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले संस्थापन पक्षले असोज ३ गतेदेखि गर्न लागेको १५औँ महाधिवेशनका कुनै पनि गतिविधिमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेको छ ।
सोमबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षबाट १५औँ महाधिवेशनको तयारी गरिरहेका संयोजक डा. शशांक कोइरालाले संस्थापन पक्षले अघि बढाएको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् ।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा अधिवेशनलगायत विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आह्वान गरेका छन् ।
कांग्रेस संस्थापन पक्षले भने असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वलाई नमान्ने भन्दै इतर पक्षले छुट्टै कार्यतालिकाअनुसार महाधिवेशनको तयारी अघि बढाएको हो । पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
कोइरालाले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको बताए ।
पार्टीलाई विभाजनको दिशातर्फ लैजाने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न आफूहरूले पटक–पटक आग्रह गरेको उनको भनाइ छ ।
तर ती प्रयासलाई सकारात्मक रूपमा ग्रहण नगरिएको उनले बताए । विशेष महाधिवेशनका नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रिया कमजोर नबनाउन र संगठनात्मक एकतामा क्षति नपु-याउन आग्रह गरिए पनि त्यसलाई बेवास्ता गरिएको उनको आरोप छ ।
पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन तथा महाधिवेशनको कार्यतालिका घोषणा गरेर अघि बढ्नु उचित नभएको कोइरालाले बताए ।
निश्चित सर्त स्वीकार गरे मात्र पद व्यवस्थापन गर्ने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाउने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने उनको भनाइ छ ।
विशेष महाधिवेशनबाट बनेको नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न खोजेको कोइरालाको आरोप छ । त्यसैले आफूहरूले तय गरेको मंसिर २१, २२ र २३ गतेको महाधिवेशन नै वैधानिक हुने उनले दाबी गरे ।




















