काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा पेस भएका दुईवटा प्रतिवेदनमा सहमति जुट्न सकेको छैन। सहमति नजुटेपछि कार्यदलको बैठक असोज १ गतेसम्मका लागि स्थगित गरिएको छ।
काभ्रेको बल्थलीमा दुई दिन बसेको आवासीय बैठकमा दुवै प्रतिवेदनलाई एकीकृत गर्ने प्रयास गरिए पनि सहमति कायम हुन नसकेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
कार्यदलका सदस्य सचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावमा अध्यक्ष ओली असन्तुष्ट भएपछि कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’लाई अर्को प्रतिवेदन तयार गर्न जिम्मेवारी दिइएको थियो।
त्यसपछि बादल र पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदन कार्यदलको बैठकमा प्रस्तुत भएका थिए। यसअघि दुवै प्रतिवेदनलाई समेटेर एउटै दस्तावेज बनाउने निर्णयअनुसार बल्थलीमा आवासीय बैठक बसेको थियो।
तर, दुई दिनको छलफलपछि पनि प्रतिवेदनका विषयमा साझा निष्कर्षमा पुग्न नसकेपछि बैठकले तीन नेतालाई प्रतिवेदन एकीकृत गर्ने जिम्मेवारी दिएको छ।
सचिव बस्नेतका अनुसार कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन समेटेर एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।
उनीहरूले तयार पारेको एकीकृत प्रतिवेदनमाथि असोज १ गते बस्ने कार्यदल बैठकमा थप छलफल गरिनेछ।




















