काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारलाई दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको संज्ञा दिएका छन्। उनले यस्ता शासकको चाँडै अन्त्य हुने पनि दाबी गरेका छन् ।
‘नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाऊसुझाव कार्यदल’ले बुझाएको ध्यानाकर्षण पत्र आइतबार दिउँसो बुझ्दै उनले आफू व्यक्तिगत रुपमा विगत ६० वर्ष देखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको बताए। ओलीले जनताका हक- अधिकारलाई लिएर लडाइँको मैदानमा उभिइरहेको बताएका छन् ।
उनले स्वतन्त्रताको पक्षमा उभिएकाहरूलाई अहिलेका शासकले बुझ्नुपर्ने भन्दै अरू अप्ठेरोमा पर्दा रमाउने शासक नटिक्ने बताए। त्यस्ता शासकहरूको जनताबाट विरोध भएर नाश हुने पनि उनले बताएका छन्।
कार्यदलले सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए ।
उनले सञ्चारमाध्यममाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताए । अहिलेको सरकार छापामार नभई ‘छापा–मार’ सरकार जस्तो देखिएको कारण सञ्चारमाध्यमलाई अप्ठ्यारो परेको बताए ।
आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।
उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै नघट्ने बताए ।




















