काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार गरेका छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यदलको बैठकमा संयोजक बादलले दुईवटा प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा बादलले तयार गरेको प्रतिवेदन र कार्यदलका सदस्य सचिवसमेत रहेका महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमाथि छलफल भएको थियो।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बादलले ‘मेरो तर्फबाट’ र ‘महासचिवको तर्फबाट’ भन्दै दुईवटा दस्तावेज बैठकमा प्रस्तुत गरेका थिए।
दुवै प्रतिवेदनमाथि छलफल गरेपछि कार्यदलले त्यसमा समेटिएका विषयलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको आचार्यले जानकारी दिए।
‘बैठकले आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ,’ उनले भने।
उनका अनुसार दुवै प्रतिवेदनमा उल्लेख भएका विषय समेटेर तयार गरिने एकीकृत प्रतिवेदन एमाले सचिवालयमा पेश गरिनेछ।




















