काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन कुनै पनि नेता–कार्यकर्तालाई वञ्चित नगरिएको दाबी गरेका छन्।
महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने र सबै नेता–कार्यकर्ताले सहभागी भएर प्रतिस्पर्धा गर्न पाउने उनले बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आगामी असोज ४ गतेदेखि पार्टीको तल्लो तहको अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुने जानकारी दिए।
‘कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित गरिएको छैन। सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ र प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘जसले जिम्मेवारी पाउनुहुन्छ, उहाँ नेतृत्वमा रहनुहुन्छ। प्रतिस्पर्धामा जिम्मेवारी नपाउने साथीहरूलाई पनि समेटेर सबैलाई लिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ।’
सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले संगठनका विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको बताए।
पार्टीभित्रका समस्यामै अल्झिरहँदा नागरिकसँगको सम्बन्ध थप कमजोर हुन सक्ने भन्दै उनले कांग्रेसले अब नागरिकसँगको सम्बन्ध सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखे।
‘अधिवेशनले अहिले पार्टीभित्रको कुरा मात्रै मिलाउँछ। नागरिकसँगको विश्वासलाई पुनःस्थापित गर्नुपर्नेछ। त्यो पुनःस्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ,’ उनले भने, ‘महाधिवेशन सम्पन्न गर्नासाथै हामी देशभरि जानुपर्नेछ। ७७ जिल्ला पुग्छौँ, गाउँगाउँ जान्छौँ।’
थापाले महाधिवेशन र दसैँलगत्तै नागरिकसँगको सम्बन्ध सुधार गर्दै उनीहरूको विश्वास पुनःजित्न कांग्रेसले देशव्यापी विशेष अभियान सञ्चालन गर्ने पनि घोषणा गरे।




















