काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाएकी छन्।
उनले उक्त घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई सम्झाएको बताएकी छन्। सुरक्षित मातृत्वको अवधारणा अघि बढाउन तथा सुत्केरी महिलाका लागि राज्यले भत्ता उपलब्ध गराउने व्यवस्था सुरु गर्न आफ्ना पिताले खेलेको भूमिकाको उनले स्मरण गरेकी हुन्।
अधिकारीले जीवन र मृत्युको दोसाँधमा रहेकी गर्भवती महिलालाई केही हजार रुपैयाँको अभावकै कारण अस्पतालको ढोकाबाट बाहिर निकालिएको घटना राज्यका लागि गम्भीर लज्जाको विषय भएको बताएकी छन्।
‘सुत्केरी महिलालाई अस्पतालसम्म पुर्याउनेदेखि उपचारका लागि राज्यले सहयोग गर्नुपर्छ भन्ने सोचका साथ मेरा बुबाले सुत्केरी भत्ताको सुरुवात गर्नुभएको थियो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तर आज आफ्नै देशमा एउटी गर्भवती महिला पैसा नभएकै कारण अस्पतालको ढोकाबाट निकालिनुपर्ने अवस्था देख्दा मलाई गहिरो लज्जाबोध भएको छ।’
उनले संविधानले सुरक्षित मातृत्वलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन्।
‘हामीले संविधानमा सुरक्षित मातृत्वलाई मौलिक हक लेख्यौँ, राज्यका नीति तथा कार्यक्रममा ठूला कुरा गर्यौँ। तर एउटी आमा प्रसव पीडाले छटपटाइरहेका बेला पैसा नभएकै कारण अस्पतालको ढोकाबाट निकालिन्छिन् भने हाम्रा नीति, कानुन र भाषणको औचित्य के रहन्छ ?’ उनले प्रश्न गरेकी छन्।
सांसद अधिकारीले सप्तरी घटनामा संलग्न कर्मचारी तथा अस्पताल प्रशासनमाथि तत्काल छानबिन गरी दोषी देखिए कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
‘पैसाको अभावमा कुनै पनि गर्भवती महिलाले अस्पतालको ढोकामा अपमानित हुनुपर्ने अवस्था आउनु हुँदैन। एउटी आमाको पीडा राज्यले बुझ्न सकेन भने हामीले गरेको राजनीति र बोकेको पदको अर्थ रहँदैन,’ उनले भनेकी छन्।
सप्तरीमा अस्पतालले पैसा नभएको भन्दै फर्काएपछि बबिता पासवानले फुटपाथमै शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएको थियो।




















