काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले आइतबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा भोटेकोसी बाढीपछिको खोज, उद्धार तथा राहतका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारका विषयमा पनि दुई मन्त्रीबीच गम्भीर छलफल भएको थियो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि अन्तरनिकाय द्रुत प्रतिकार्य टोली र कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरे। उनले कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीका लागि पनि धन्यवाद दिए।
मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भविष्यमा यस्ता विपद्बाट कम क्षति हुने गरी दिगो तथा सुरक्षित पूर्वाधार निर्माण गरिने बताए। ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने भन्दै उनले यसमा दक्षिण कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आफ्नो सरकार सहयोग गर्न इच्छुक रहेको बताए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै चोले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र दक्षिण कोरियाबीच सहकार्य आवश्यक रहेको बताए।
उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेका चुनौती तथा क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए।
नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिबापत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा दक्षिण कोरियाले पनि आवाज उठाउने प्रतिबद्धता चोले व्यक्त गरे।
भेटवार्तामा दुवै मन्त्रीले नेपाल र दक्षिण कोरियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सहकार्यलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र दक्षिण कोरियाबीच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। पछिल्लो विपद्मा दक्षिण कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता र ऐक्यबद्धतालाई थप मजबुत बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।




















