नुवाकोट । भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फसेकी एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।
गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरिएको हो । उनी हिलोमा गाडिएको अवस्थामा थिइन् । थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको छ । रासस




















