काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादबाट मुक्त रहनुपर्ने बताएका छन् ।
शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैँ निष्कलंक र निर्विवाद रहनुपर्नेमा जोड दिए ।
विपद् व्यवस्थापनका क्रममा सेनाको पछिल्लो सक्रियता र त्यसको समयसन्दर्भबारे समेत ओलीले प्रश्न उठाए ।
‘नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था हो, तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ,’ ओलीले भने, ‘सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले यो संस्था सधैँ स्वच्छ र आफ्नो सीमाभित्र रहनु उचित हुन्छ।’
राहत तथा उद्धारका नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट हुन नसकेको टिप्पणी गर्दै ओलीले अहिलेको मुख्य प्राथमिकता प्रभावितको उद्धार, राहत र पुनःस्थापना हुनुपर्ने बताए ।
‘अहिलेको समय राहत र उद्धारमा केन्द्रित हुने बेला हो। यससँगै भत्किएका संरचनाको पुनर्निर्माण पनि आवश्यक छ,’ उनले भने ।
ओलीले प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने काम भइरहेको पनि जानकारी दिए ।
उनले राहत तथा उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
रसुवाका बाढी तथा पहिरो प्रभावितलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्राप्त राहत सामग्री हस्तान्तरण गरेका थिए ।



















