काठमाडौं । सांसदहरूले बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन तत्काल स्वास्थ्य व्यवस्थापन तथा पूर्वसतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाढी प्रभावित क्षेत्रको जनस्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै सरकारलाई स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा राहत व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका हुन्।
शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. ओजस्वी शेरचनले स्थलगत अध्ययन तथा विश्लेषणका आधारमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य अवस्था गम्भीर देखिएको बताइन्।
रसुवाका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको र धादिङ तथा त्रिशूली अस्पतालसमेत प्रभावित भएको उनले जानकारी दिइन्।
‘स्वास्थ्य चौकी नै नरहेको अवस्थामा महामारी फैलिन नदिन त्यहाँ तत्काल अस्थायी स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य परीक्षण गरेर स्क्रिनिङ गरियोस्,’ उनले भनिन्।
बाढी प्रभावित क्षेत्रमा औषधि मात्रै उपलब्ध गराएर नपुग्ने भन्दै शेरचनले स्वच्छ खानेपानी तथा नियमित सरसफाइको व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
रास्वपाका सांसद बुद्धीप्रसाद पन्तले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्ने बताए। विपद्को समयमा सरकारले गरेका राम्रा कामको भविष्यमा मूल्यांकन हुने उल्लेख गर्दै उनले विदेशी राष्ट्रबाट प्राप्त सहयोगसमेत उपयोग गरेर प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताए।
अर्का सांसद बुद्धरत्न महर्जनले विपद्का बेला आपूर्ति व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने बताए। यस्तो अवस्थामा कालोबजारी हुनसक्ने भन्दै उनले त्यसतर्फ आवश्यक निगरानी र सतर्कता अपनाउन सरकारलाई आग्रह गरे।
नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले राहत वितरणको एकद्वार प्रणालीप्रति असन्तुष्टि जनाउँदै प्रभावितले पर्याप्त राहत पाउन नसकेको टिप्पणी गरिन्।
‘प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भनेजस्तो गर्नुभयो,’ उनले भनिन्, ‘यसैगरी सरकारले राहत वितरणमा एकद्वार प्रणालीको नीति ल्याएको छ। योभन्दा जनताहरू भोकै छन्।’
उनले राहत वितरणसँगै बेपत्ताको खोजी तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिन्। विशेषगरी सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा सरकार थप जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।
‘नागरिकको जीवनभन्दा ठूलो अरू केही हुन सक्दैन,’ बरालले भनिन्।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बेपत्ताका आफन्त अझै आफ्ना परिवारका सदस्य फर्किने आशामा रहेको बताइन्। सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले समयमै विदेशी सहयोग लिन नसकेको भन्दै उनले दुःख व्यक्त गरिन्।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले विपद्का कारण महिला तथा बालबालिका थप जोखिममा पर्नसक्ने भन्दै सरकारले उनीहरूको सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्ने बताए।
नेपाली कांग्रेसकी सांसद सीता थपलियाले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गरिन्। तर, उद्धार प्रभावकारी हुन नसकेको भन्दै प्रश्न उठ्न थालेको उल्लेख गर्दै उनले सरकारलाई थप प्रभावकारी ढंगले काम गर्न आग्रह गरिन्।




















