काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढी प्रभावित क्षेत्रमा अवस्था बाहिरबाट अनुमान गरेभन्दा निकै भयावह रहेको बताएका छन्। उनले विगतको कमजोरी ढाकछोप गर्न सरकारले अर्को गल्ती गर्न नहुने भन्दै उपलब्ध सबै विकल्प प्रयोग गरेर उद्धारमा जुट्न आग्रह गरेका छन्।
थापाले सुरुङमा फसेका व्यक्तिका परिवारका सदस्यहरूले आफूलाई लगातार फोन गरिरहेको जानकारी दिए। उनका अनुसार आफन्तहरू आफ्ना परिवारका सदस्यको सकुशल उद्धारको आशामा सरकारको पहल पर्खिरहेका छन्।
सरकारले समयमै बाह्य सहयोग लिन नसकेकोतर्फ संकेत गर्दै थापाले अब विगतको कमजोरीलाई ढाकछोप गर्नुभन्दा उद्धारका लागि गर्न सकिने सबै प्रयास गर्नुपर्ने बताए।
‘हामीले जुन बेलामा बाहिरको सहयोग लिनुपर्छ भनेर भन्यौँ, समयमा सहयोग माग्ने काम भएन। चुक्ने कुरा भइसक्यो। अब फेरि गल्तीलाई ढाकछोप गर्नेभन्दा पनि जे गर्न सकिन्छ, बेस्ट गर्ने कोसिस गर्नुपर्छ,’ उनले भने, ‘एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्नुहोला। एउटा मात्र जीवन बचाउन सकियो भने पनि त्यो धेरै ठूलो कुरा हुन्छ।’
थापाले बाढीपछि शव व्यवस्थापनमा समेत कमजोरी देखिएको भन्दै राज्यले यस विषयमा थप संवेदनशीलता अपनाउनुपर्ने बताए। आफन्तको सास भेटिने आशा नरहे पनि कम्तीमा शव फेला परोस् र अन्तिम संस्कार गर्न पाइयोस् भन्ने अपेक्षामा परिवारजनले खोजी गरिरहेको भन्दै उनले उनीहरूको पीडालाई प्राथमिकतामा राख्न आग्रह गरे।
प्रभावित क्षेत्रमा आफू पुग्दा स्थानीय जनप्रतिनिधिले गरेको काम प्रशंसनीय रहेको थापाले बताए। अब खोजी तथा उद्धारसँगै राहत र पुनर्निर्माणका लागि प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।
राहत वितरणमा पनि वास्तविक आवश्यकता र उपलब्ध सहयोगबीच तालमेल मिलाउनुपर्ने उनले बताए।
‘राहत दिन चाहने धेरै हुनुहुन्छ, तर आवश्यकता र आपूर्तिबीच तालमेल मिलाउनुपर्ने देखिन्छ। सहयोग गर्न सक्नेहरूले सहयोग गरौँ, सक्दैनौँ भने पनि पीडितहरूलाई चोट पुग्ने गरी कटु वचन नबोलौँ,’ थापाले भने, ‘तल फिल्डको अवस्था बाहिरबाट सोचेभन्दा निकै भयावह छ।’
थापाले बाढी प्रभावित क्षेत्रको अवस्थालगायत बाँकी विषय समेटेर नेपाली कांग्रेसको तर्फबाट छिट्टै विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने जानकारीसमेत दिए।




















