काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बिहान ११ बजेदेखि उनीहरूबीच भेटवार्ता भइरहेको हो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा गत साता रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा छलफल भइरहेको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङ केही दिनअघि बाढी प्रभावित क्षेत्रमा पुगेका थिए। उनले त्यहाँ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धार अवस्था तथा आयोजनामा भएको क्षतिबारे जानकारी लिएका थिए।
निर्माण सम्पन्न तथा निर्माणाधीन गरी करिब एक दर्जन जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको र त्यहाँ कार्यरत तथा उद्धारको प्रतीक्षामा रहेका मानिसहरू प्रभावित भएकाले प्रधानमन्त्री शाहले घिसिङसँग यस विषयमा छलफल गरेका हुन्।
भोटेकोसी बाढी आएको नौ दिन बितिसक्दा पनि विभिन्न आयोजनाका सुरुङमा फसेका मानिसहरूको उद्धारमा अपेक्षित प्रगति हुन सकेको छैन। यस्तो अवस्थामा उद्धार कार्यलाई प्रभावकारी बनाउने तथा क्षतिग्रस्त जलविद्युत् आयोजनाको अवस्थाबारे पनि भेटवार्तामा छलफल भइरहेको जनाइएको छ।




















