काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले विपद्को प्रभावकारी सामना गर्न सरकारसमक्ष सात बुँदे प्रस्ताव अघि सारेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता थापाले रसुवामा आएको विनाशकारी बाढी प्रकृतिजन्य विपत्ति हो वा मानवीय कमजोरीबाट सिर्जित दुर्घटना हो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए।
हरेक वर्ष बाढी र पहिरोको विनाश व्यहोर्नुपर्ने अवस्था नियति जस्तै बनेको भन्दै उनले यस्तो परम्परा अन्त्य गर्न राज्यले दृढ संकल्पका साथ अघि बढ्नुपर्ने धारणा राखे।
उनले अघि सारेका सात प्रस्ताव यस्ता छन् :
१. राज्यको प्रमुख नेतृत्व, प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसद् प्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसद्लाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
२. राष्ट्रिय सहमतिबाट नै विद्यमान सङ्कटको सामना गर्न सकिन्छ। त्यसैले सरकारले राजनीतिक दल, नागरिक समाज तथा विज्ञहरूको सर्वपक्षीय संयन्त्रको निर्माण गर्न पहल गर्नुपर्दछ। सामूहिक र सङ्गठित प्रयासले मात्रै हामीले यो सङ्कटको सामना गर्न सक्दछौँ।
३. सभामुखज्यूले सरकारलाई सचेत तथा सहयोग गर्न विशेष संसदीय समिति गठन गर्नुपर्दछ।
४. अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्दछ।
५. सरकारले युद्धस्तरमा उद्धार तथा राहत कार्यका लागि रक्षामन्त्रीको नेतृत्वमा युनिफाइड स्पेशल टास्क फोर्स गठन गर्नुपर्दछ।
६. सरकारले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्दछ।
७. जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता तथा आवश्यक रणनीति तय गर्न ‘सगरमाथा संवाद’को दोस्रो संस्करणलाई सरकारद्वारा अगाडि बढाउन आवश्यक छ।




















