काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछिको अवस्थाबारे सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा पेस गरेको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय शोकको यस घडीमा ऐक्यबद्धता कायम गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारलाई निर्देशन दिएको हो।
विशेष प्रस्तावमार्फत सभामुख अर्यालले तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सबै निकायलाई समन्वयात्मक रूपमा परिचालन गरी प्रभावित नागरिकको खोज तथा उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन्।
त्यस्तै, बाढीका कारण विस्थापित नागरिकलाई तत्काल पुनर्स्थापना गर्ने तथा घाइतेहरूको उचित र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको छ।
सभामुख अर्यालले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। उनले घटनाबाट घरबारविहीन भएका नागरिकको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।




















