काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले सुरुङमा फसेकाहरूको उद्धारमा भएको ढिलाइलाई अमानवीय र गम्भीर विषयका रूपमा चित्रण गरे।
उनले अझै ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन रहेको विवरण आएको भन्दै खोज तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले भने, ‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ। अझै पनि ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ। समयक्रममा यो संख्या अझै बढ्न सक्छ।’
सुरुङभित्र फसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति उनले आपत्ति जनाउँदै भने, ‘सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो।’
आङ्देम्बेले विपद् सुरु भएदेखि नै उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्रका सबै उपलब्ध स्रोतसाधन परिचालन गर्नुपर्ने बताए।
आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष उद्धार टोलीसमेत तत्काल झिकाएर उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।




















