काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीपछि उद्धार तथा राहतका विषयमा उठेका गुनासोबारे सरकार जानकार रहेको बताएका छन्। उनले विशेषगरी सुरुङभित्र फसेकाहरूको उद्धारमा भएको ढिलाइबारे आफूहरूलाई जानकारी रहेको स्पष्ट पारे।
बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोसी बाढीबाट भएको जनधनको क्षति र सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले सुरुङमा आएको विपत्ति अन्य घटनाभन्दा फरक र विशेष प्रकृतिको रहेको बताए।
उनले भने, ‘टनेलमा आएको विपत्ति विशेष किसिमको छ। ढिलाइबारे जुन गुनासो आएको छ, त्यो पूर्ण रूपमा बुझ्छौं। हामी गुनासोबाट विचलित भएका छैनौं।’
प्रधानमन्त्री शाहले उद्धार तथा राहतका लागि प्रदेश र स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताए। आगामी दिनमा पनि तीनै तहका सरकारबीच आवश्यक समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ।
उनले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्न सबैलाई आग्रह गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आफन्त अझै सम्पर्कविहीन भएर उनीहरूको प्रतीक्षामा रहेका नागरिकको पीडा आफूले गहिरोसँग महसुस गरेको बताए।
प्रधानमन्त्री शाहले विपत्तिको पीडा कुनै एक जिल्लाको मात्र नभई सिंगो देशको साझा पीडा भएको उल्लेख गरे।
उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन।’
सङ्कटको समयमा सरकारको नेतृत्वले आँसु र निराशा होइन, नागरिकलाई हिम्मत, आड र भरोसा दिनुपर्ने उनको भनाइ थियो।
उनले दृढ संकल्प र साहसका साथ विपत्तिको सामना गर्नुको विकल्प नभएको बताउँदै सरकार उद्धार तथा राहत अभियानमा निरन्तर जुटिरहेको दाबी गरे।
प्रधानमन्त्री शाहले भोटेकोसी बाढीपछि सरकारले नागरिकको जीवनरक्षाका लागि गरिरहेका खोज, उद्धार, उपचार तथा राहतसम्बन्धी कामबारे प्रतिनिधिसभालाई जानकारी गराएका हुन्।




















