काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा बाढी प्रभावित नागरिकको उद्धार र राहत व्यवस्थापनसँगै क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापनाका विषयमा पनि कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि सरकारी संयन्त्रलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।
भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सबै सरोकारवाला निकायबीच समन्वय गर्दै राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउने विषयमा पनि भेटमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
हिजो रविले प्रभावित क्षेत्रका पालिका प्रमुखहरुसँग टेलिफोन गरेर छलफल गरेका थिए । कुराकानीका क्रममा सभापति लामिछानेले बाढीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिएका थिए ।
बाढीप्रभावित क्षेत्रमा उद्धारमा ढिलाई भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसँग असन्तुष्टि बढ्न थालेपछि सभापति रवि लामिछानेले अग्रसरता लिएका छन्।
पालिका प्रमुखहरूले सरकारले प्रभावित क्षेत्रमा अहिलेसम्म उद्धार गर्न नसकेको गुनासो गर्दै सरकार एकै ठाउँमा केन्द्रित भएको बताएका थिए ।
‘अहिलेसम्म प्रभावकारी उद्धार नै भएन, प्रभावित क्षेत्रमा राहत पुगेको छैन, सरकार एकै ठाउँमा केन्द्रित देखिएको छ, शव उठाइएको छैन। फसेका मानिस निकाल्ने जनशक्ति पनि पठाइएको छैन,’ लामिछानेसँग उनीहरूले गुनासो गर्दै भने।
उनीहरूले प्रभावित क्षेत्रमा तत्काल पुल, सञ्चार सम्पर्क र विद्युत सञ्चालन गराउन माग गरेका थिए । जवाफमा लामिछानेले सरकारसँग यसबारे कुरा भइरहेको र अब तीव्रता दिइने प्रतिवद्धता जनाएका थिए ।
सम्पूर्ण पालिका अध्यक्षहरूले उठाएका समस्या र सुझावहरू गम्भीरतापूर्वक सुनेपछि सभापति लामिछानेले सरकार र सम्बन्धित निकायहरूसँग तत्काल छलफल गरी उल्लिखित समस्याहरूको यथाशीघ्र समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।




















