काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी मुख्य सचेतक बासना थापाले भोटेकोसीमा आएको बाढीपछि उत्पन्न विपद् व्यवस्थापन तथा राहत वितरणमा संघीय सरकारको कार्यशैली प्रभावकारी हुन नसकेको टिप्पणी गरेकी छन्।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढी प्रभावित क्षेत्रमा विशेषगरी महिला र बालबालिकाको अवस्था निकै चुनौतीपूर्ण रहेको बताइन्।
थापाले प्रभावित महिला तथा बालबालिकाले भोगिरहेका समस्याको समाधानका लागि मानवअधिकार र बालअधिकारका क्षेत्रमा कार्यरत निकायलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरिन्।
विपद्का बेला प्रदेश र स्थानीय सरकार प्रभावकारी रूपमा परिचालित हुन नसकेको भन्ने प्रश्नमा उनले यसको मुख्य कारण संघीय सरकारको केन्द्रिकृत सोच भएको बताइन्।
‘संघीय सरकारले सबै काम आफ्नै मातहतमा राखेर सञ्चालन गर्ने नीति लिएका कारण प्रदेश र स्थानीय तहले अपेक्षित रूपमा काम गर्न सकेनन्,’ उनले भनिन्।
उनले राहत सामग्री पर्याप्त मात्रामा उपलब्ध भए पनि स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक अधिकार नदिँदा राहत वितरण प्रक्रिया व्यवस्थित हुन नसकेको धारणा राखिन्।
स्थानीय जनप्रतिनिधिहरू स्वयं पनि विपद्को मारमा परेको र ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको उल्लेख गर्दै थापाले उनीहरूलाई उचित समन्वय र जिम्मेवारीसहित परिचालन गर्नुपर्ने बताइन्।
‘सुरुमा संघीय सरकारले नै सबै जिम्मेवारी लिने बताएपछि प्रदेश र स्थानीय तहले त्यसलाई सहयोग गरे। तर अहिले संघ एक्लैले धान्न नसक्ने अवस्था आइसकेकाले अविलम्ब अधिकार प्रत्यायोजन गर्नुपर्छ,’ थापाले भनिन्।
विपद् व्यवस्थापनलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारमाथि विश्वास गर्दै उनीहरूलाई आवश्यक अधिकार र जिम्मेवारी दिनुपर्नेमा उनले जोड दिइन्।




















