काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि राज्यको स्रोत र सामर्थ्य उदारतापूर्वक प्रयोग गर्न सरकारलाई आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विपद्को सामना गर्न केन्द्र, प्रदेश र स्थानीय तहका तीनवटै सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
‘सरकारले राज्यको कोष उदारतापूर्वक नागरिकको उद्धारमा, राहतमा र पुनर्निर्माणमा खर्च गरोस् भन्ने हो,’ ओलीले भने, ‘सरकारका विभिन्न तहहरूको पनि दायित्व हुन्छ। राजधानी भएकै प्रदेशमा यस्तो घटना घटेको छ।’
उनले विपद्को चुनौती सामना गर्न तीन तहका सरकारसँगै राजनीतिक दल, विभिन्न सङ्घसंस्था, सामाजिक तथा परोपकारी संस्था र नागरिक सबै एकजुट हुनुपर्ने बताए।
ओलीले विपद्को यस्तो समयमा एकअर्काको आलोचना र टीकाटिप्पणी गर्नेभन्दा प्रभावित नागरिकको उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने धारणा राखे।
तर, उनले वर्तमान सरकार विपद्को समयमा प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाए।
‘यतिबेला कसैको आलोचना गर्ने, टीकाटिप्पणी गर्ने समय होइन,’ उनले भने, ‘तर सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बस्यो। सरकार एक ढङ्गले भन्ने हो भने अगम्य, अप्राप्य र अदृश्यजस्तो देखियो।’
अध्यक्ष ओलीले विपद्को समयमा राजनीतिक दलहरूबीच श्रेय लिने प्रतिस्पर्धा हुन नहुने पनि बताए।
सरकार संकटमा परेका बेला एमाले सहयोग र साथ दिन तयार रहेको उल्लेख गर्दै उनले सबै पक्ष मिलेर उद्धार, राहत र पुनर्निर्माणमा जुट्नुपर्नेमा जोड दिए।




















