काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुरुङमार्गमा भइरहेको उद्धार कार्य स्वदेशी विज्ञताले मात्र सम्भव नदेखिए विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा सभापति थापाले उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक परे बाह्य मुलुकको सहयोग लिनुपर्ने बताएका हुन्।
उनले सुरुङभित्रको उद्धारका लागि नेपालमा उपलब्ध प्राविधिक विज्ञता पर्याप्त नहुन सक्ने जानकारी पाएपछि परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी विदेशी सहयोग जुटाउन आग्रह गरेको बताए।
‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट सहयोग लिन आग्रह गरेको छु,’ थापाले भने।
उनले विपद्को समयमा छिमेकी तथा मित्रराष्ट्रको सहयोग लिनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उद्धार कार्यमा ढिलाइ हुन नदिन सरकारले आवश्यक निर्णय तत्काल गर्नुपर्ने बताए।
यसैबीच, नेपाली कांग्रेसले मुलुकमा आएको बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ। उद्धार तथा राहत कार्यमा देखिएका कमजोरी र कमीबारे सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक सहयोग गर्ने कांग्रेसको धारणा रहेको छ।
थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको पनि जिम्मेवारी भएको बताए। सरकारका काममा रहेका कमजोरी र ‘ग्याप’ औंल्याउनु आलोचना मात्र नभई सुधारका लागि सहयोग भएको उनको भनाइ थियो।
विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उनले संघीय सरकारलाई स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न सुझाव दिए।
स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको तर्क थियो।
मुलुक शोकमा रहेको र हजारौँ नागरिक विपद्बाट प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहलाई सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न पनि थापाले निर्देशन दिएका छन्।
अब पार्टीको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन तथा प्रभावित क्षेत्रमा राहत वितरणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
‘हरितालिका तीजलगायतका पर्व सामान्य रूपमा मनाउन सकिन्छ, तर सार्वजनिक उत्सव र भड्किला कार्यक्रम नगर्न म आग्रह गर्दछु,’ उनले भने।
सभापति थापाको नेतृत्वमा नेपाली कांग्रेसको विपद् व्यवस्थापन टोली सोमबारदेखि प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन तथा राहत समन्वयका लागि जाने भएको छ।
प्रभावित क्षेत्रमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव दिने तथा आवश्यक दबाब सिर्जना गर्ने थापाले बताएका छन्।




















