भक्तपुर । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिहरूलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु गरिएको छ । धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई वाग्मती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं उपत्यका ल्याउने व्यवस्था मिलाएको हो । यसनिम्ति मुख्यमन्त्री किरण थापामगरले समन्वय गरेका थिए ।
मुख्यमन्त्री थापाले भने, “धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ । खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पु¥याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पु¥याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं पठाउने कार्य गरेका छौँ ।”
उद्धारको पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरेर काठमाडौं आइपुग्न सक्ने गरी मिलाइएको उनले बताए । धुन्चेसँगै चौगटीमा सर्वसाधारणका निम्ति खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको उनले जानकारी दिए ।
यस्तै, वागमती प्रदेश सरकारले त्रिशूलीपारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको उनले बताए । उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौं आउन सक्ने जनाइएको छ ।




















