काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको तथा अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइएको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राज्यका विभिन्न निकाय सक्रिय भएको जानकारी दिएका छन्।
उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मेडिकल टिम, नेपाल स्काउट, नेपाल रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम सुरु गरिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन्।
तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। जोखिम क्षेत्रमा रहेका नागरिकलाई एसएमएस र फोनमार्फत समेत सचेत गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि उपलब्ध हेलिकप्टरहरूलाई समेत तयारी अवस्थामा राखी प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ। निजी हेलिकप्टर कम्पनीलाई पनि आवश्यक पर्दा तत्काल परिचालन गर्न हेलिकप्टर तयारी अवस्थामा राख्न भनिएको प्रधानमन्त्रीको भनाइ छ। केही हेलिकप्टर उद्धारका लागि प्रभावित क्षेत्रतर्फ गइसकेका छन्।
बाढीको अवस्था र आगामी रणनीतिबारे छलफल गर्न उच्चस्तरीय बैठक पनि केही समयभित्र बोलाइएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा उद्धार निकायबाट आउने आधिकारिक जानकारीको प्रतीक्षा गर्न आग्रह गरेका छन्।
उनले आवश्यक जानकारी तथा राहतसम्बन्धी सहयोगका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने बताएका छन्।




















