काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
देउवा र खड्काले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेश गरेका थिए। उक्त निवेदन मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्। दुवैले दिएको पूरक निवेदनमाथि सुनुवाइका लागि भदौ ११ गते पेसी तोकिएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले कांग्रेसको १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। तर देउवा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गरेका छन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको तर्क छ।
उनीहरूले यसअघि भएको फैसलाको पुनरावलोकनसम्बन्धी निवेदनसँगै अहिले पेश गरिएको पूरक निवेदनमाथि पनि एकसाथ सुनुवाइ गर्न माग गरेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो। उक्त निर्णयविरुद्ध देउवा र खड्का सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो।
त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै देउवा र खड्काले पुनः निवेदन दिएका थिए। सो निवेदनमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको पूर्ण इजलासले निसा प्रदान गरेपछि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ।
अब भदौ ११ गते हुने सुनुवाइले कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया र पार्टीको आधिकारिकतासम्बन्धी विवादमा थप कानुनी बहस अघि बढ्ने देखिएको छ।




















